२०८१ श्रावण १२

सुनसरीका पाँचवटा पालिकामा कर्फ्यू, राजमार्गमा सतर्कता

एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीका कार्यवाहक प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।
साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ । राजमार्गमा लामो दूरीका सवारी साधनलाई निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ । हरिनगर गाउँपालिका–१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिटका विषयमा आज दुई समूहबीच झडप भएको थियो ।
दुई समूहबीचको झडपले उग्ररूप लिएपछि अनिश्चितकालका लागि प्रशासनले पाँच पालिकामा कर्फ्यू आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि झडपस्थल हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडामा मात्रै निषेधाज्ञा जारी गरेको थियो । तर विवाद बढेपछि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा सतर्कता बढाएको छ ।
निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, ¥याली, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन प्रशानले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख छ ।