२०८१ श्रावण १२

आज काठमाण्डौँ उपत्यका लगायत तीन प्रदेशमा हल्का पानी पर्ने ।

काठमाण्डौँ, काठमाण्डौँ लगायत कोसी, वाग्मती र गण्डकी प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौँ उपत्यकाको अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

आज काठमाडौंमा केही समय पानी पर्ने र रोकिने हुन्छ । बिहान ११÷१२ बजेसम्म केही समय पानी पर्ने र केही समय रोकिने मौसमविद् शान्ति कँडेलले बताइन । ठूलो वर्षा भने हुने छैन । हल्का वर्षा मात्रै हुनेछ ।
राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेसम्म वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ ।
गत चौबिस घण्टामा कोशी प्रदेशका ताप्लेजुङमा सर्वाधिक ७ दशमवल ६ मिलिलिटर बर्षा मापन भएको छ । त्यसैगरी जिरीमा ६ दशमलव ६, काठमाण्डौमा १ दशमलव ८ र पोखरामा ४ दशमलव १ मिलिलिटर बर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।