२०८१ श्रावण १२

आजदेखि वर्ष २०८० को एसईई शुरु, ३५ प्रतिशत नल्याए ‘नन् ग्रेडेड’ हुने ।

आनन्द गुरुङ,काठमाण्डौँ– वर्ष २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । यस वर्ष एसईईमा पाँच लाख चार हजार ४ सय १४ विद्यार्थी सहभागी भएका छन् ।
आजदेखि सञ्चालन भएको परीक्षाका निम्ति दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस बर्ष जम्मा पाँच लाख चार हजार ४ सय १४ विद्यार्थीले आवेदन दिएकोमा दुई लाख ५० हजार ७ सय ७२ छात्रा, दुई लाख ५३ हजार ६ सय २७ छात्र छन् । अर्थात् यो वर्षको एसईईमा छात्रभन्दा झन्डै तीन हजार कम छात्रा सहभागी भएका छन् ।
२०७८ को परीक्षामा पाँच लाख १४ हजार ९६७ जनाले आवेदन दिएकोमा छात्रा दुई लाख ५७ हजार ९२४ र छात्र दुई लाख ५७ हजार ५३ जना थिए । २०७९ को एसईईमा सहभागी चार लाख ८५ हजार ३९६ जनामध्ये छात्रा दुई लाख ४२ हजार ७१२ छात्र दुई लाख ४२ हजार ६७४ थिए ।
नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट यो वर्ष २३ विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ ।
यसपटकको एसईईमा लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायलाई पहिलोपटक ‘अन्य’ वर्गमा राखेर सहभागी गराइँदैछ । सो समुदायबाट यसपटक १५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।


यस वर्ष सहभागी भएका १० हजार ८ सय ६ विद्यालयमध्ये ५ सय ६ वटा विद्यालयका १५ हजार ७ सय ४९ विद्यार्थी प्राविधिक धारका छन् । गत वर्ष ५ सय ५ वटा विद्यालयबाट प्राविधिक धारका १५ हजार ४ सय ६१ विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
यो वर्ष एसईई दिन लागेका पाँच लाख चार हजार ४ सय १४ विद्यार्थीका निम्ति दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न ७७ हजार बढी जनशक्ति खटाइको बोर्डले जनाएको छ ।
परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७७ हजार ५ सय ५ जना जनशक्ति खटाउन लागिएको बोर्डले जनाएको छ । यस वर्ष पहिलोपटक एसईई माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन हुँदै छ । यस्तै, लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको ग्रेडिङ हुनेछ । जसअनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेको मार्कसिटमा अवर्गीकृत (नन् ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।

सैद्धान्तिकतर्फ पूर्ण अंक ७५ रहेकोमा विद्यार्थीले कम्तीमा २७ ल्याउनुपर्ने छ । यसरी नन् ग्रेडेड नतिजा आएका विद्यार्थीले दुईवटा विषयमा तीनपटकसम्म तत्कालै हुने पूरक परीक्षा दिन पाउने छन् । यस्तै, दुईभन्दा बढी विषयमा नन् ग्रेडेड भएका वा पूरक परीक्षामा पनि ग्रेडिङ पाउन नसकेका विद्यार्थीले अर्को वर्ष हुने एसईईमा सबै विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा र्बोडले जनाएको छ ।