२०८१ श्रावण १२

रक्षा मन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण ।

काठमाण्डौँ, रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले जङ्गी अड्डाको भ्रमण गरेका छन् ।
रक्षामन्त्रीमा नियुक्त भए पश्चात् मन्त्री उप्रेतीले पहिलो पटक जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी ििलएका हुन ।
रक्षामन्त्री उप्रेती जङ्गी अड्डा पुग्दा सेनाका सकलदर्जाको तर्फबाट प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए । स्वागत पछि भएको संक्षिप्त कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेना संविधान प्रदत्त जिम्मेवारीका अलावा नेपाल सरकारबाट विधिसम्मत ढङ्गले प्राप्त विकास निर्माण लगायत विविध जिम्मेवारीहरू समयमानै पुरा गर्न सदैव कटिबध्द रहेको बताए । जिम्मेवारीहरू पुरा गर्ने क्रममा आई पर्ने चुनौतीहरूलाई नियमसम्मत रूपमा रक्षा मन्त्रालयबाट सम्बोधन हुँदै आई रहेको र सोको प्रभावकारी निरन्तरता हुनेमा विश्वस्त रहेको बताए ।
यसका साथै राष्ट्रको आधारभूत मूल्यमान्यताको रक्षा एवम् जनताको विकास र समृध्दिको अभिलाषालाई पूरा गर्न समेत नेपाली सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको बताए ।


रक्षा मन्त्री उप्रेतीले नेपाली सेनाले विपद्को समयमा जनताको सुरक्षाको लागि नेपाली सेनाले देखाएको व्यवसायिक क्षमता प्रदर्शन, वन्यजन्तु तथा पर्यावरण संरक्षणप्रतिको योगदान एवम् राष्ट्रिय एकता प्रवर्ध्दनमा गरेका उल्लेखनीय कार्यहरूको कारण सेनाप्रति नेपाली जनताको उच्च विश्वास, भरोसा र सम्मान रहेको बताए ।
उनले राष्ट्रिय सुरक्षाको मेरुदण्डको रूपमा रहेको नेपाली सेनाको समयानुकूल आधुनिकीकरण र सबलीकरणका बारे नेपाल सरकार गम्भीर रहेको बताउँदै नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।