२०८१ मंसिर २९

नेपाली सेनाद्धारा देवदह–माथागढी पदमार्ग स्थानीय सरकारलाई हस्तान्तरण ।

काठमाण्डौँ, नेपाली सेनाले रुपन्देहीको देवदहदेखि–पाल्पाको माथागढी जोड्ने पदमार्ग अन्तर्गतको ११७ मिटर सिँढी र रेलिङ निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाली सेनाको जनहितको कार्य अन्तर्गत श्री गरुड दलद्वारा नवनिर्मित शरणबारी–माथागढी ऐतिहासिक पदमार्ग अन्तर्गत १० लाख लागतमा सिँढी र रेलिङ निर्माण गरी देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव खरेललाई हस्तान्तरण गरेको छ । मध्यपश्चिम पृतनाका पृतनापति उपरथी सुनील श्रेष्ठ, श्री २२ नं. वाहिनी अड्डाका वाहिनीपति सहायक रथी ललितबहादुर कुँवर, देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव खरेलले नवनिर्मित पदमार्गको संयुक्त उद्घाटन गरेका थिए ।
देवदह नगरपालिकाले दुई वर्षअघि १५ करोड बजेटको शरणबारी–माथागढी पदमार्ग गुरुयोजना तयार गरेर काम थालेको थियो । कार्यक्रममा गरुड दलका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले माथागढीको महत्वबारे प्रकाश पार्दै १८१४–१८१६ मा यो गढी युद्धमा प्रयोग भएको किंवदन्ती रहेको भन्दै माथागढीको महत्वबारे प्रकाश पारेका थिए ।