२०८१ श्रावण १२

सिन्धुलीको नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट ।

काठमाण्डौँ, सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडामा रहेको नेपाल टेलिकम को टावर परिसरमा कुकर बम विस्फोट भएको छ ।
शुक्रबार बिहान करिब ३ बज दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको सिन्धुली प्रहरीले जनाएको छ ।
विस्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
बम विस्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो । टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईंमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको र विस्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।