२०८१ श्रावण १२

पहिलेभन्दा सस्तो दरमा डेटा रोमिङ सेवा शुरु ।

काठमाण्डौँ, नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताका लागि सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध गराएको छ ।
विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताले पहिलेभन्दा सस्तो दरमा डेटा सेवा प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । विदेशमा रहने प्रयोगकर्ताले डेटा रोमिङ सेवा सञ्चालनमा रहेको मुलुकका रोमिङ साझेदारहरूसँग सम्झौता गरी महसुल दरमा कटौती गरिएको टेलिकमले उल्लेख गरेको छ ।
नेपाल टेलिकमका अनुसार पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बङ्गलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रिस, हङ्गेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध हुने छ । त्यसै गरी मलेसिया, म्यान्मार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिङ्गापुर, श्रीलङ्का, स्विट्जरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डेटा रोमिङ सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । डेटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्ने कम्पनीले स्पष्ट पारेको छ ।