२०८१ श्रावण १२

बेँसीसहर–चामे सडक दुई दिन बन्द, दानाक्यु नजिकै सडक मर्मत हुंदै

मनाङ,  हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आज (शनिबार) देखि दुई दिन बन्द हुने भएको छ ।
बेसिशहर–चामे सडक अन्तर्गत नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज (शनिबार) दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो ।
सडकको ढलान भत्किएर जोखिम बढेकाले र वैकल्पिक सडक नभएकाले बन्द गरेर मर्मत गर्नु परेकाले उक्त समयसम्मका लागि यातायात पूर्णरुपमा ठप्प हुने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले सूचना जारी गरेको छ । डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले दानाक्यु नजिकै कल्भटको वरिपरि भत्किएको र बाटोमा ढुंगा निस्किएकाले मर्मत गर्न लागिएको बताए । सवारी साधन सञ्चालनमा धेरै समस्या हुन थालेपछि उक्त ठाउँमा सामान्य मर्मत हुने भए पनि वैकल्पिक सडक नहुँदा यस सडक नै बन्द गर्नुपर्ने भएको उनको भनाइ छ ।
मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो । नेपाली सेनाले २०६९ सालमा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पदर्छ ।