२०८१ श्रावण १२

आज साँझदेखि काठमाण्डौँमा वर्षा सुरु हुने ।

काठमाण्डौँ, हिजोदेखि देशको पश्चिमी क्षेत्रमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएका कारण आज साझँपख काठमाण्डौँमा हल्का बर्षा हुने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती तथा कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो काठमाण्डौँमा वर्षाको सम्भावना छैन । काठमाण्डौँमा बिहानैबाट मौसम बदली सुरु भएको छ । आज दिनभर बदली भइरहन्छ । तर साँझ ६/७ बजेबाट भने काठमाडौंमा छिटपुट वर्षा हुनसक्छ । आज राति र भोलि भने काठमाडौंमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाकी प्रवक्ता विभूती पोखरेलले बताइन ।
विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रहने जनाएको छ । वाग्मती तथा कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशसहित वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।