२०८१ श्रावण १२

यस वर्षको हिउँदे अवधि विगत भन्दा लामो, भोलि (शुक्रबार)बाट पुनः पानी पर्ने ।

आनन्द गुरुङ, काठमाण्डौँ, यस वर्षको हिउँद अवधि विगत भन्दा लामो हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा सामान्यतय मंसिर १५ देखि फागुन १७ गतेसम्मलाई हिउँद अवधि मानिन्छ । यो अवधिलाई मात्रै हिउँद मान्ने हो भने आजबाट हिउँद अवधि सकिनेछ । तर, भोलि (शुक्रबार)बाट पुनः पश्चिमी वायु सक्रिय हुँदै छ । भोलीबाट देशमा सक्रिय हुने वायुमा हिउँद यामकै विशेषता (क्यारेक्टर) भएका कारण यो वर्षको हिउँद अवधि लम्बिने मौसमविद् एवं मौसम पूर्वानुमान महाशाखाका प्रवक्ता विभूती पोखरेलको भनाइ छ । मनसुन प्रवेश गर्ने र बाहिरिने अवधी अगाडि वा पछाडि सर्ने जस्तै हिउँदे अवधि पनि पछि सर्ने सम्भावना रहेको मौसमविद् पोखरेलले स्पष्ट पारे ।


भोलि शुक्रबार साँझबाट देशको पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुने भएको छ । भोलि बेलुकाबाट पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्न सुरु हुनेछ र केही दिन पुनः हिउँदे वर्षा हुनेछ ।” यसबारे जानकारी गराउन भोलि (शुक्रबार) बिहानसम्म जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन नै जारी गर्ने तयारी गरिरहेको छ । भोलिबाट पुनः सक्रिय हुने प्रणालीले पश्चिमी भू–भागमा तुलनात्मक रूपमा धेरै र मध्य तथा पूर्वी क्षेत्रमा कम वर्षा गराउनेछ ।

भोलि राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् पोखरेलले बताइन । लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा हुनेछ ।
शनिबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने उनको भनाइ छ । वाग्मती प्रदेशको तराई र कोसी प्रदेशको पहाडी भू–भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
आइतबार पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।