२०८१ श्रावण १२

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला पर्यो, २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ

काठमाण्डौँ, थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाण्डौंका अधिकृतले शिशुलाई काँडाबारीमा फेला पारिएको पुष्टि गरेका छन् । बच्चा लिएर जाने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु एक जना संदिग्ध महिलाले लिएर गएकी थिइन् । बच्चा चोरीको घटनामा संलग्न दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् ।
शुक्राबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रसुति गृहबाट बालिकाको चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ । पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन् । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन् ।
बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको देखिएको थियो ।अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी गरेका थिए ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताएका थिए ।