२०८१ श्रावण १२

नेपाली काँग्रेसको क्रियाशील सदस्य ८ लाख ६९ हजार ५५१ जना ।

काठमाण्डौँ, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा ८ लाख ६९ हजार ५५१ जना क्रियाशील सदस्य रहेको बताएका छन् ।
महासमिति बैठकको लागि तयार पारिएको सांगठनिक प्रतिवेदनमा क्रियाशील सदस्यमध्ये १ लाख १४ हजार ५२५ जना पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको उल्लेख गरेका छन् ।
महामन्त्री थापाले प्रस्तावमा भनेका छन्, ‘साथीहरू टोलदेखि केन्द्रसम्म पार्टीको कुनै न कुनै जिम्मेवारीमा रहेर काम गरिरहनु भएको छ । साथै कुनै सांगठनिक जिम्मेवारीमा नरहेको भए पनि काँग्रेसप्रति प्रतिबद्ध र निष्ठावान् कांग्रेस सदस्यको अर्को ठूलो पङ्क्ति छ, जसले असम्भव झैं लाग्ने प्रतिकूलतामा पनि पार्टीको तल्लो तहमा बसेर आफ्नो आस्था र विचारलाई कहिल्यै डगमगाउन दिएन । तिनले बरू विस्थापित हुन र जीवनकै जोखिम मोल्न तयार भए, जेल–नेल भोगे, कतिको ज्यान गयो कतिको सम्पत्ति गुम्यो । गुमेका थुप्रै अवसरका बारेमा किञ्चित पश्चाताप नगरी र हिंसार निरंकुशताको त्यो चेपुवामा समेत पार्टी छाड्न र विचार बदल्न तयार नभएको अदम्य साहस र अविचलित निष्ठाले पूर्ण त्यो विशाल पार्टी पङ्तिसँग आज पनि केवल पार्टीको राम्रो होस् र देशलाई राम्रो गरोस् भन्ने एक सूत्रीय आग्रहमात्र छ ।’
उनले काँग्रेसमा लागेर पद पाइएला वा नपाइएला, सत्तामा हुँदा मलाई के फाइदा होला भनेर व्यक्तिगत स्वार्थ नहेर्ने ठूलो संख्या पार्टीमा आबद्ध भएको उल्लेख गरेका छन् ।
आमनिर्वाचनको प्रतिस्पर्धामा कहिल्यै नजितेका र निकट भविष्यमा समेत जित्ने सम्भावना नरहेका ठाउँमा पनि आदर्शको झिल्को जोगाएर संगठनलाई जीवन्त राख्ने काँग्रेसजनको उच्च समर्पण भाव अतुलनीय रहेको महामन्त्री थापाले बताएका छन् ।