२०८१ श्रावण १२

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा, ९४ देशका ४० हजार सहभागी ।

काठमाण्डौँ, ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि सुरुहुने संस्करणको १६ औं विश्व सामाजिक मञ्चको सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ ।
हालसम्म अन्तर्राष्ट्रिय श्रम सगठन महासघ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अतिथि वक्ताको सहभागिता निश्चित भएको छ ।
सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन् ।
विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।
सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने बताइएको छ ।
नेपाल आयोजक समितिका सञ्चार समन्वय उपसमितिका संयोजक सुशील विकेले मञ्चले नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्ध सामूहिक आवाज उठाउँदै आएको जानकारी दिए ।
सम्मेलनमा वल्र्ड फेमिनिस्ट फोरमले लैङ्गिक समानता, महिला अधिकार, प्रजनन अधिकार, लैङ्गिक हिंसा, शिक्षा र रोजगारीमा समान अधिकारजस्ता विषयमा बहस छलफल गर्नेछ भने सीमान्तकृत सामाजिक समूहले लैङ्गिकता यौनिक अल्पसङ्ख्यक, आदिवासी जनजाति, अपाङ्गता भएका समुदायका सवालमा कार्यक्रम गर्नेछन् । यस्तै डेमोक्रेसी मुभमेन्टले मानव अधिकार, पारदर्शी सरकार, डेमोक्रेटिक संस्थाको संरक्षण, जवाफदेहिता जस्ता विषयमा बहस गर्नेछ ।