२०८१ श्रावण १२

आज सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

गृह मन्त्रालयले आज फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते आज (मंगलबार) सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्।
संघीय सरकारले गत वर्ष ‘जनयुद्ध दिवस’ का दिन फागुन १ मा बिदा दिएको थियो । तर सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो । सर्वोच्चले बिदा बदर गरिदिएपछि गृह मन्त्रालयले सूचना निकालेर फागुन १ मा सार्वजनिक बिदा नरहेको प्रष्टाएको छ ।
सर्वोच्चले गत पुस १३ गते अबदेखि ’जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो।
विभिन्न स्थानीय तहहरूले भने ’जनयुद्ध दिवस’ का अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।