२०८१ श्रावण १२

अमेरिकी र बेलायती लडाकु विमानहरूद्धारा यमनको होडेडाहमा हवाई आक्रमण ।

काठमाण्डौँ, अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह सहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टीभीले जनाएको छ ।
होडेडाह सहरको रणनीतिक रेड सी बन्दरगाहलाई निसाना बनाई अल–काथीब क्षेत्रमा दुई हवाई बमबारी भएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमले आक्रमणमा सर्वसाधारणको मृत्यु भएको जनाएको छ । केही घाइतेलाई तत्काल उपचारका निम्ति नजिकैको अस्पतालहरूमा लगिएको छ ।
पछिल्लो हवाई आक्रमण जनवरी १२ देखि वासिङटन र लन्डनद्वारा जारी सैन्य प्रतिक्रियाको एक हिस्सा हो । साना र अरू उत्तरी प्रान्तहरूको हुथी–नियन्त्रित क्षेत्रलाई लक्षित गर्दै आक्रमण जारी राखिएको छ । अन्तर्राष्ट्रिय कारबाही लालसागरमा व्यापारिक ढुवानीमा हुथी आक्रमणको बदलाका रूपमा गरिएको बताइएको छ ।
गएको नोभेम्बरदेखि लालसागर, बाब अल–मन्डब स्ट्रेट र अडेनको खाडीमा सैन्य कारबाहीमा संलग्न हुथीहरूले इजरायली र इजरायल जाने जहाजहरूलाई निसाना बनाएको दाबी गरिएको छ ।