२०८१ श्रावण १२

नेपाली क्यान्सर बिरामीलाई काठमाण्डौँ–दिल्ली–काठमाण्डौँ मार्गमा निःशुल्क हवाई सेवा ।

काठमाण्डौँ, नेपाल वायुसेवा निगमले क्यान्सरपीडित नेपाली बिरामीलाई काठमाण्डौँ–दिल्ली–काठमाण्डौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले काठमाण्डौँ–दिल्ली–काठमाण्डौँ मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
‘विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस)का सन्दर्भमा यो रोग लाग्नबाट बचौँ र बचाऔँ भनी ऐक्यबद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर राहत समाजको सिफारिसका आधारमा निगमको काठमाण्डौँ–दिल्ली–काठमाण्डौँ सेक्टरको हवाई भाडादरमा अर्बुदरोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौँ,’ निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।