२०८१ श्रावण १२

आज विश्व अर्बुद रोग दिवस मनाइँदै ।

काठमाडौँ, आज विश्व क्यान्सर (अर्बुद) दिवस ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ । डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।
यस्तै सबैभन्दा धेरै फोक्सोको अर्बुद रोग देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् । नेपालमा अर्बुद रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि डब्लुएचओका अनुसार नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने अर्बुदका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ । यस्तै पुरुषमा फोक्सो, पेट र कलेजोमा अर्बुदको रोग बढी हुने गर्छ ।
हरेक वर्षको फरवरी ४ तारिखका दिन यो दिवस मनाइन्छ ।