२०८१ श्रावण १२

आज विश्व सिमसार दिवस, नेपालमा पनि मनाइँदै छ ।

काठमाडौँ, विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष फरवरी २ का दिन यो दिवस मनाउने गरिन्छ ।
सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हा े। सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ ।
रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फरवरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ ।


सन् १९८७ डिसेम्बर १७ का दिन नेपालले कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र हो।
रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन्।
सरकारी तथ्यांकअनुसार नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । विश्व संरक्षण संघ नेपालको अभिलेख अनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हा े। नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन्।
यसैगरी नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन् ।