२०८१ श्रावण १२

आज काठमाण्डौँमा बर्षकै चिसो, न्यूनतम तापक्रम ३ डिग्री मापन ।

काठमाण्डौँ, आज काठमाण्डौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । त्यसैले आज बढी चिसो महसुस भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ः४५ बजे गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो ।
यसअघि यही माघ ८ गते काठमाण्डौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । माथिल्लो तहमा चिसो बादल आएकाले मौसम पनि चिसिएको छ । त्यसैले अघिल्ला दिनको तुलनामा जाडो झन् बढेको छ ।
यद्यपि लामो समयदेखि हिउँदे वर्षा नभएकाले यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम जाडो छ । यदि पानी पर्ने हो भने काठमाडौंको न्यूनतम तापक्रम घटेर जाडो झन् बढ्न सक्ने मौसमविदहरु बताउँछन् । तर आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
२०७५ साल पुसमा काठमाण्डौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो । सन् १९७८ मा भने काठमाडौंको न्यूनतम तापक्रम माइनससम्म पुगेको रेकर्ड छ ।