२०८१ श्रावण १२

साउदी अरबमा ७० वर्षपछि पहिलो पटक मदिरा पसल सञ्चालनमा ।

काठमाण्डौ, साउदी अरबमा गैरमुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिइन लागेको छ ।
साउदी अरबको राजधानी रियादमा ७० वर्षपछि पहिलो पटक खुल्ने मदिरा पसलले चुनिएका गैरमुस्लिम विदेशीहरूलाई सेवा दिने छ । यद्यपि सेवाग्राहीको वर्गमा सीमित कूटनीतिक कर्मचारीहरू मात्र पर्ने छन् ।
वास्तवमा कूटनीतिज्ञहरूले वर्षौँदेखि उनीहरूले आयात गर्ने कूटनीतिक पार्सलमा मदिरा ल्याउने गरेका थिए । तीमध्ये केही परिमाणको मदिरा कालोबजारी हुने गरेको सरकारी अधिकारीहरूले बताउने गरेका थिए ।


मदिरा पसल खोल्ने कार्यले त्यस्तो अवैध काम बन्द हुने उनीहरू ठान्छन् । नयाँ नियमअन्तर्गत कूटनीतिज्ञहरूले आयात गर्ने मदिरामा कडाइ गरिने बरु उनीहरूले रियादस्थित ’डिप्लोम्याटिक क्वार्टर’मा खुल्ने पसलबाट निश्चित कोटामा मदिरा किन्न सक्ने विवरण समाचारसंस्था एएफपी र रोयटर्सले जनाएका छन् ।
तोकिएको पसलमा गएर मदिर किन्न केही सर्त पनि राखिएको छ । मदिरा किन्न इच्छुक कूटनीतिज्ञले पहिलै नाम दर्ता गराएर सरकारबाट अनुमति लिनुपर्ने छ । २१ वर्षमुनिका कसैलाई पनि पसलभित्र प्रवेश अनुमति हुने छैन । पसलभित्र रहँदा ‘उचित पोसाक’ लगाइरहनुपर्ने छ । मदिरा सेवनकर्ताले आफ्ना चालक वा अन्य व्यक्तिलाई मदिरा किन्न पठाउन पाउने छैनन् ।
सूचीकृत ग्राहकले एक महिनामा अधिकतम २४० ’पोइन्ट’ मदिरा पाउने छन् । एक लिटर स्पिरिट बराबर छ पोइन्ट हुन्छ भने एक लिटर वाइन बराबर तीन पोइन्ट र एक लिटर बिअर बराबर एक अङ्क हुन्छ ।


कूटनीतिज्ञबाहेक अन्य विदेशीहरूका निम्ति मदिरा किन्ने सुविधा उपलब्ध हुने छैन।
साउदी कानुनअनुसार मदिरा साथमा राखेको वा उपयोग गरेको अपराधमा जरिवाना, जेल सजाय, सार्वजनिक रूपमा कोर्रा प्रहार वा देशनिकालासम्म हुन सक्नेछ ।
मदिरा खुकुलो पार्ने पछिल्ला प्रयासलाई साउदी अरबका युवराज तथा वास्तविक शासक मोहम्मद बिन सलमानले अघि सारेका उदारीकरणसम्बन्धी भिजन २०३० अभियानकै एक पाटोका रूपमा हेरिएको छ ।