२०८१ श्रावण १२

आज मच्छिन्द्र र जावलाखेल भिड्दै : आहारारा पोखरा गोल्डकप

काठमाण्डौ, पोखरामा जारी २३ औं आहारारा पोखरा गोल्डकप अन्र्तगत आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुँदैछ । खेल साढे २ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।
आहाराराको २३ औं संस्करणसम्म आइपुग्दा दुवै टिम उपाधिविहीन छन् । मच्छिन्द्रले ५ र जावलाखेल युथ क्लबले तीन पटक भाग लिएका छन् । तर, दुवै टिम भिडेका थिएनन् ।
आहारारामा मच्छिन्द्रको यो छैंटौं सहभागिता हो । अघिल्लो संस्करणमा प्रिक्वार्टर फाइनलमै चर्च ब्वाइजसँग मच्छिन्द्र ३–१ ले पराजित हुँदै बाहिरिएको थियो ।
जावलाखेलको आहारारामा यो चौंथो सहभागिता हो । २०६८ मा भएको दशौं आहारारा गोल्डकपमा पहिलोपटक सहभागी भएको जावलाखेलले डेब्यु प्रतियोगितामै फाइनलसम्म पुगेको थियो ।
तर, फाइनलमा मनाङमर्स्याङ्दी क्लबसँग २–० अन्तरले पराजित भएको थियो । ११औं आहारारा गोल्डकपमा पनि जावलाखेल सेमिफाइनलसम्म पुगेको थियो । उक्त संस्करणको सेमिफाइनलमा थ्रीस्टारसँग २–१ ले पराजित भएको थियो ।
१२ औं संस्करण पनि सहभागी भएको जावलाखेल प्रिक्वार्टरमै संकटा क्लबसँग १–० ले पराजित हुँदै बाहिरिएपछि भने आहारारा गोल्डकपमा सहभागी हुन छोडेको थियो ।
आहारारामा जावलाखेल एक दशकपछि फर्किएको हो । यसपटक जावलाखेलले नरेश थापाको प्रशिक्षणमा टोलीलाई मैदान प्रवेश गराउँदैछ ।
जावलाखेलको टोलीमा राष्ट्रिय टोलीका छिरिङ लामा, सुदीप गुरुङसहित समावेश छन् । विश्वकप एसिया छनोटको प्रारम्भिक छनोटमा परेका आशिष देउला पनि जावलाखेलबाटै खेल्दैछन् ।
त्यस्तै, मच्छिन्द्रले पनि २ जना विदेशी खेलाडीसहित अधिकांश राष्ट्रिय टोलीका अनुभवी खेलाडीलाई मैदान उतार्दैछ । मच्छिन्द्रबाट यसपटक राष्ट्रिय टिमका सनिष श्रेष्ठ, आशिष चौधरी, उत्सव राई, छिरिङ लामा, मनिष डाँगी खेल्दैछन् । मच्छिन्द्रको प्रशिक्षक सन्तोष न्यौपाने छन् ।
सेसेहाङ लिम्बु, विमल घर्तिमगरसमेत पनि मच्छिन्द्रबाटै खेल्दैछन् ।सेसेहाङ हालैमात्र विभागीय आर्मी छोडेर मच्छिन्द्रमा अनुबन्ध भएका हुन् । त्यस्तै, सनिष श्रेष्ठ विभागीय टिम एपीएफबाट आएका हुन् भने आशिष चौधरी चर्च ब्वाइजबाट आएका हुन् ।
आजको खेल जित्ने टिम क्वार्टर फाइनलमा प्रवेश गर्नेछ र माघ १५ गते मनाङमर्स्याङ्दीसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।