२०८१ श्रावण १२

आन्तरिक हवाई जहाजले काठमाडौँ बाहिरका विमानस्थलमा रात्रि बिसान गर्नुपर्ने।

काठमाडौँ, त्रिभूवन अन्तराष्ट्र्रिय विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गर्न निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौँ ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडौँमा रात्रि बिसान नगरी काठमाडौँबाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो ।
कतिपय एयरलाइन्सले तोकेको ‘बेस’मा जहाज रात्रि बिसान नगरी विभिन्न कारण देखाउँदै काठमाडौँमा भिडभाड हुन थालेपछि थप कडाइ गर्न लागिएको विमान स्थलले जनाएको छ । “पछिल्लो समय एयरलाइन्सले कहिले प्राविधिक र कहिले मौसमको कारण देखाउँदै काठमाडौँ विमानस्थलमा रात्रि बिसान गर्न थालेपछि भिडभाड बढेकाले थप कडाइ गर्न लागिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । एयरलाइन्सहरूलाई विभिन्न ‘बेस’ तोकिएको छ, सोही अनुसार उनीहरूले जहाज रात्रि बिसान गगर्नुपर्ने छ ।
काठमाडौँ बाहिरका चन्द्रगढी, विराटनगर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा जहाजको रात्रि बिसान हुने गरेको छ । ती जहाजले काठमाडौँका लागि सम्बन्धित गन्तव्यबाट पहिलो उडान गर्दै आएका छन् । महाप्रबन्धक तिवारीका अनुसार उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम पनि कम हुने भएकाले काठमाडौँ बाहिरका विमानस्थलमा रात्रि बिसानका लागि थप प्रभावकारी बनाउन लागिएको हो ।
यसबाट काठमाडौँ आउने यात्रुलाई पनि यसले सहज हुनेछ । प्राधिकरणको निर्णयअनुसार निजी क्षेत्रका बुद्ध एयरको छ, यती एयरलाइन्स र श्री एयरलाइन्सको समान दुई तथा सौर्य, सीता, तारा एयरका समान एक–एक जहाज मात्रै काठमाडौँ विमानस्थलमा रात्रि बिसान गर्न पाइने निर्णय भएको थियो ।