२०८१ श्रावण १२

आगामी १० दिनमा लाइसेन्स छपाइ प्रक्रिया सुरु गरिने : यातायात व्यवस्था विभाग

काठमाडौं, यातायात व्यवस्था विभागले स्मार्ट सवारी लाइसेन्स छपाइका लागि अर्डर गरेको १२ लाख कार्डमध्ये ६ लाख कार्ड नेपाल आइपुगेको छ । रोकिएको स्मार्ट सवारी लाइसेन्स छपाइ अब सुरु हुने जनाएको छ ।
गत आर्थिक बर्ष २०७९–८० मा टेण्डर गरेअनुसार कार्ड नेपाल आएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । गत आर्थिक वर्षमा टेण्डर गरेको १२ लाख कार्डमध्ये छ लाख कार्ड आइपुगेको छ । अन्य कार्ड विस्तारै आउने पनि प्रवक्ता पनेरुले बताए ।
जर्मनिको मूलवर्गसँग १२ लाख कार्ड छपाइका लागि आर्थिक बर्ष २०७९–८० मा सम्झौता भएको थियो । सम्झौताअनुसारको ६ लाख कार्ड अहिले नेपाल आइपुगेको उनको भनाइ छ ।


प्रवक्ता पनेरुका अनुसार यी कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैँकले ‘डेलिभरी अर्डर’ गर्नुपर्ने हुन्छ । राष्ट्र बैँकको यो सबै काम सकेपछि विभागले कार्डको ल्याव टेष्ट गर्नेछ । ल्याव टेष्ट गरिसकेपछि गुणस्तर भएको प्रमाणित भएपछि मात्र छपाइको प्रक्रिया थालिने उनले बताए ।
यातायात व्यवस्था विभागका प्रवक्ता पनेरुका अनुसार कार्डहरुको ल्याव परीक्षण गर्न धेरै लामो समय नलाग्ने भएकाले १० दिनमा लाइसेन्स छपाइ प्रक्रिया सुरु गरिने बताए ।
पनेरुका अनुसार हाल विभागसँग मौजुदा प्रिन्टर एउटा मात्र रहेको छ । जसको कार्यक्षमता १६ घण्टासम्म निरन्तर चलाउँदा पनि दैनिक चारदेखि पाँच हजारभन्दा बढी प्रिन्ट गर्न सक्दैन । अहिलेसम्म करिब १४ लाख लाइसेन्स छापेर वितरण गर्न सकिएको छैन । चालु आर्थिक वर्षमा थप एउटा मेसिन किन्नका लागि टेण्डरको प्रक्रियामा रहेको पनेरुको भनाइ छ ।