२०८१ श्रावण १२

उज्वेकिस्तानले भारतलाई ३–० गोल अन्तरले हरायो ।

काठमाडौँ, एएफसी एसियन कप फुटबलमा भारतले समूह चरणको दोस्रो खेलमा उज्वेकिस्तानसँग हार ब्यहोरेको छ ।
बिहिबार भएको समूह बी को खेलमा उज्वेकिस्तानले भारतलाई ३–० गोल अन्तरले हरायो । पहिलो खेलमा अष्ट्रेलियासँग २–० ले हारेको भारतले दोस्रो खेलमा अझै खराब नतिजा ब्यहोर्यो । पहिलो हाफमै ३–० गोल अन्तरले पछि परेको भारत खेलमा फर्कनै सकेन ।
खेलको चौथों मिनेटमा अब्बोस्बेक फैजुल्लायेवको गोलमा उज्वेकिस्तानले खेलमा अग्रता बनाएको थियो । इगोर सर्गेवले १८ औं मिनेटमा उज्वेकिस्तानको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा शेरजोड नसरुलोले गोल गर्दै उज्वेकिस्तानलाई ३–० ले अघि बढाएका थिए ।


पछिल्लो हारले भारतको एसियन कपमा नकआउट चरण पुग्ने सम्भावना नाजुक बनेको छ । भारत प्रतियोगितामा गोल गर्न नै संघर्षरत देखिएको थियो । समूह चरणको अन्तिम खेलमा सिरियाविरुद्धको खेलले भारतको नकआउट चरण पुग्ने सम्भावनाको विषयमा प्रस्ट पार्नेछ ।
समूह बीमा अष्ट्रेलिया र उज्वेकिस्तान नकआउट चरण पुग्ने पक्का भएको छ । उज्वेकिस्तानसँग गोल रहित बराबरी खेलेको सिरियाको अघिल्लो चरण प्रवेशको सम्भावना छ ।
अष्ट्रेलियाले दुई खेलमा सतप्रतिशत जित सहित ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । उज्वेकिस्तान ४ अंक सहित दोस्रो र सिरिया १ अंक सहित तेस्रो स्थानमा छ । भारत अंक र गोल बिहीन हुँदै तालिकाको पुछारमा छ ।