२०८१ श्रावण १२

आज कोसी, वाग्मती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना ।

काठमाडौँ,आज देशको हिमाली तथा उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराईका केही स्थानमा सवारी साधन चलाउन नसक्नेगरी बाक्लो हुस्सु र कुहिरो लागेको छ । विराटनगरमा बिहान ६ बजे भिजिविलिटी सय मिटर छ । घोराहीमा दुई सय मिटर छ,” मौसमविद् सञ्जिव अधिकारी बताए । विराटनगर, घोराहीजस्ता न्यून भिजिविलिटी भएका स्थानमा सवारी साधन चलाउन कठिन हुने गर्दछ ।
काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् अधिकारीले जानकारी दिए ।
आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताए । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भन्दै सतर्क रहन विभागको आग्रह छ । चिसोबाट बच्न समेत आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले भनेको छ ।