२०८१ श्रावण १२

दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ४ जनाको सनाखत हुन बाँकी ।

काठमाडौँ, दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३००१ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।दुर्घटनामा परी सातजनाको घटनास्थलमै, चारजनाको उपचार गर्न लैजाने क्रममा बाटोमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।


मृत्यु हुनेमा नेपालगन्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडाका अन्दाजी ३० ३५ वर्षीय शौरभ विष्ट, जुम्लाको चन्दनाथ ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजनको मृत्यु भएको छ ।
रुकुम गोतामकोट ९ का २५ वर्षीय दीपक डाँगी, भारतको पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्रराम, भारतकै उत्तर प्रदेशको अतिकुल्ला खैरेका ३१ वर्षीय मुने र काठमाडौं चन्द्रागिरि नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य चारजनाको सनाखत हुन सकेको छैन । उनीहरू करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ । घाइते २२ मध्ये सातजनालाई बुटवल, नौजनालाई नेपालगञ्ज र ६ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।