२०८१ श्रावण १२

आज नेपालले स्कटल्यान्डसँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै ।

काठमाडौँ, आईसीसी यू–१९ विश्वकप खेल्न हाल दक्षिण अफ्रिकामा रहेको नेपाली क्रिकेट टोलीले आज शनिबार आफ्नो पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ ।
विश्वकपअघि नेपालले स्कटल्यान्डको यू–१९ टोलीसँग औपचारिक रूपमा पहिलो अभ्यास खेल खेल्न लागेको हो । नेपाल र स्टकल्यान्डबिचको पहिलो अभ्यास खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । सोही दिन नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारतबिच पनि अभ्यास खेल खेलिने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपअघि प्रत्येक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपालले दोस्रो अभ्यास खेल भने जनवरी १६ (मंगलबार) वेस्ट इन्डिजको यू–१९ टोलीसँग खेल्नेछ ।
त्यसपछि जनवरी १९ तारिखदेखि यू–१९ विश्वकप सुरु हुनेछ । यू–१९ विश्वकपमा नेपालसहित १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।
नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन् । यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोली एउटा समूहमा रहने छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् ।
यसैगरी नेपाली टोलीमा उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि रहेका छन् । यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो ।