२०८१ श्रावण १२

नेपाली पासपोर्ट झन झन कम्जोर, पासपोर्टले सम्बन्धित देशको अवस्था दर्शाउँछ ।

हेन्ली एण्ड पार्टनर्सले बिहीबार सार्वजनिक गरेको विश्वका शक्तिशाली पासपोर्टको सूचीले नेपाल सुधारको बाटोमा नरहेको देखाउँछ । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपालको अवस्था दयनीय देखिएको छ ।
हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सन् २०२४ का विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट सातौँ स्थानमा छ । अर्थात् नेपाली पासपोर्ट विश्वका सबैभन्दा कमजोर सात पासपोर्ट भित्र पर्छ ।
नेपाली पासपोर्टले ४० अंक सहित ९८ औँ स्थानमा रहेको छ । अघिल्लो वर्ष २०२३ मा नेपाली पासपोर्ट यो सूचिको ९९औँ स्थानमा थियो । सूूचीको पहिलो नम्बरमा रहेका फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनका पासपोर्टले १९४ अंक पाएका छन् । सूचीको अन्तमा रहेको अफगानिस्तानको पासपोर्टले २८ अंक प्राप्त गरेको छ ।
नेपालको भन्दा पनि कमजोर पासपोर्ट हुने देशमा प्यालेस्टिन, सोमालिया, यमन, पाकिस्तान, इराक, सिरिया र अफगानिस्तान छन् । नेपालभन्दा पछाडि रहेका पाकिस्तान बाहेक सबै देश द्वन्द्वग्रस्त हुन् ।
सूचीमा १९९ देशलाई समेटिएको छ । विश्वका २२७ देश तथा क्षेत्रको यात्रा गर्दा ती पासपोर्टमा दिइने ‘अनअराइभल भिसा’का आधारमा शक्तिशालीको सूची तयार पारिएको हो ।
विदेश भ्रमण गर्दा प्रयोग हुने पासपोर्टले सम्बन्धित देशको अवस्था दर्शाउँछ । विश्वले कुनै पनि देशलाई कति सम्मानले हेर्छ भन्ने कुरा त्यो देशको पासपोर्टमा लाग्ने अनअराइभल भिसाले देखाउँछ । यस्तो सम्मान र प्रतिष्ठा नेपाली पासपोर्टले पछिल्ला वर्षहरुमा गुमाउँदै छ ।
अब पनि राजनीतिक दलहरुले देशको विकास र समृद्धिमा ध्यान नदिए आगामी वर्षहरुमा नेपालको पासपोर्ट झन् झन् कमजोर हुँदै जानेमा कुनै शंका छैन । हाम्रो पासपोर्ट कमजोर भए अझ बढी हेपिनु पर्नेहुन्छ ।
यसैकारण राष्ट्रको प्रतिष्ठा बढाउन र जनतालाई हेपिनबाट जोगाउन सबैभन्दा पहिलो सरकार र राजनीतिक दलहरुले विकास तथा समृद्धिमा ध्यान दिनुपर्ने देखिन्छ ।