२०८१ श्रावण १२

कोशीटप्पु क्षेत्रमा जलपन्छी गणना सुरु, कोशीटप्पुमा पाहुना चरा घट्दो ।

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जलपन्छी गणना सुरु भएको छ । ३७ औँ जलपन्छी गणना बुधबारबाट आरक्ष क्षेत्रमा सुरु भएको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पाँचदिने चरा गणना गर्ने कार्यक्रम अनुसार बुधबार बिहान जलचराको गणना चतराबाट सुरु गरिएको छ । गणनामा चराविज्ञ तथा संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिए ।


राष्ट्रव्यापी रूपमा हिमाली प्रकृति संस्थाले पानीमा आश्रित चराको गणना सुरु गरेको संयोजक डा. बरालले बताए । कोशीटप्पुमा कोशी पन्छी समाजले चराको गणना गर्ने छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्व र कोशीटप्पु वन्यजन्तु आरक्षको समन्वयमा चरा गणना हुने छ । गणनामा हाँसका प्रजाति, बकुलाका प्रजाति, गरुडका प्रजाति, हुटिट्याउँलगायत पानीमा निर्भर रहने जलचराहरुको विज्ञद्वारा गणना गरिने डा. बरालले जानकारीदिए ।


डा. बरालका अनुसार दशकदेखि कोशीटप्पुमा पाइने चराहरू घट्दो व्रmममा रहेका छन् । जाडो छल्न आउने चराले आरक्ष क्षेत्रमै बच्चा कोरल्ने गरेका थिए । खेतबारीमा हाल्ने विषादीले गर्दा पाहुना चराको प्रजनन क्षमता घट्दै गएको छ । किसानले खेतबारीमा हालेको विषका कारण मरेका किरा फट्याङ्ग्रा खाएर चराको प्रजनन क्षमता कमजोर हुँदै गएकाले पनि पाहुना चरा घट्दो छन् ।
चराको राजधानीका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा भएका ठुला सिम क्षेत्र, ताल र साना खोल्सा सुक्दै जानुले पनि चराको बासस्थान घट्दै गएको छ । बासस्थान घटेसँगै जलमा निर्भर रहने चराको सख्या घट्दै गएको चराका जानकार बताउँछन् ।