२०८१ श्रावण १२

इपिएस उत्पादनतर्फको भाषा परीक्षा माघ ६ गतेबाट हुने, परीक्षा तीन चरणमा हुने ।

काठमाडौँ, रोजगार अनुमति प्रणाली (इपिएस) उत्पादनतर्फको भाषा परीक्षा तीन चरणमा हुने भएको छ ।
वैदेशिक रोजगार विभाग र दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) बिचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको हो ।
इपिएस शाखाका अनुसार आउँदो माघ ६ देखि भाषा परीक्षा सुुरु हुने र परीक्षा तीन चरणमा हुने छ । विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जना भाषा परीक्षामा सहभागी हुन पाउने जानकारी दिए ।
पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ देखि हुने भएको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुने छ । वैदेशिक रोजगार विभागका महानिर्देशक घिमिरेले कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको बताए ।


पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने छ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुने छ ।
उत्पादनमूलक क्षेत्रका लागि एक लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए, जसमा पहिलो पटक एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानीजहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाको आवेदन परेको शाखाले जनाएको छ ।