२०८१ श्रावण १२

तपश्वीे रामबहादुर बम्जन पक्राउ, बम्जनले अनुयायी बेपत्ता पारेको अभियोग छ ।

काठमाडौँ तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ गरेको हो । पक्राउ परेपछि उनले प्रहरीसँग दुई महिनादेखि काठमाडौँ  मै बस्दै आएको बताएका छन् ।
ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार, विशेष सूचनाका आधारमा बम्जनको हात्तीगौंडामा रहेको घरबाट पक्राउ गरिएको उनले बताइन् ।
सीआइबीले बम्जनको श्रीमतीलाई ट्रयाक गरिरहेको थियो । एक महिनाअघि उनको बच्चा जन्मिएको थाहा पाएपछि खोजीलाई तीब्र पारिएको थियो । त्यही आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।


पक्राउ परेपछि गरिएको प्रारम्भिक सोधपुछमा उनले आफू कहिले सिन्धुली त कहिले मकवानपुरको जंगलमा बस्दै आएको बताएका छन् । पछिल्लो समय दुई महिनायता काठमाडौं आएको उनले बताए ।
प्रमुख एआईजी बज्राचार्यले बोम्जनलाई केही दिनदेखि ब्यूरोले निगरानीमा राखेको बताइन् । ‘१७÷१८ दिनदेखि टोली त्यहाँ खटिइरहेको थियो, ‘त्यसक्रममा मंगलबार त्यहाँ छापा मारिएको थियो । प्रहरी देखेपछि बोम्जन दुई तलामाथिबाट हामफालेका थिए । त्यसपछि सीआईबीबाट खटिएको डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले भुइँतलाबाट पक्राउ गरेर ब्यूरोको कार्यालयमा ल्याएको थियो ।


बम्जनले अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी पर्नुभन्दा ३ वर्षअघि बम्जनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो ।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ ।
उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान थियो । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो ।