२०८१ श्रावण १२

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि, सबै नाकाहरुमा स्क्रीनिङ र निगरानी शुरु ।

काठमाण्डौं, नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको हो ।
कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ ।
कोरोना सङ्क्रमण फैलन नदिन भिडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह डा.प्रकाश बुढाथोकीले गर्नुभएको छ ।
मन्त्रालयले नयाँ सब भेरिएन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल प्रवेश बिन्दुमा सम्पूर्ण हेल्थ डेक्सहरु, स्वास्थ्य कार्यालयहरू मार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।