२०८१ श्रावण १२

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्यताका साथ मनाइँने : नेपाली सेना

३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८० भब्यताका साथ मनाइँने नेपाली सेनाले जनाएको छ ।

दिवसको अवसरमा पौष २१ गते गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा थालनी गर्ने छ । गोरखा दरबारबाट निस्कीएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँ पुगेर नगर परिक्रमा पश्चात पौष २७ गते जङ्गी अड्डामा आयोजना गरिने श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पण पश्चात् समापन हुनेछ ।

पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी– हाल बर्दबहादुर तथा सबुज) को झण्डा तथा दिपज्योति सहित ऐतिहासिक सैनिक पोशाक र परम्परागत बाजागाजासहित यात्रा गर्ने सेनाले जनाएको छ ।


पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८० का अवसरमा पौष २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश सम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन, कविता प्रतियोगिता आयोजना गरिने छ । यस्तै, देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाइहरुमा पनि विविध कार्यक्रमहरूको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाइने नेपाली सेनाले जनाएको छ ।