२०८१ श्रावण १२

आज र भोली उल्का वर्षा हुने, राति ११ः३० बजेदेखि हेर्न सकिने ।

काठमाडौँ, सन् २०२४ को पहिलो उल्का वर्षा बिहीबार (आज) र शुक्रबार (भोली) हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गते राति अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ । ‘भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसैदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजेदेखि २० गतेको सूर्योदय भन्दा अगाडि हेर्न सकिने सोसाइटीले जनाएको छ । अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशको अवलोकन गर्न सकिने छ ।
उल्का वर्षा प्रति घण्टा ५० देखि १२० वटासम्म हुने अनुमान गरिएको सोसाइटकिा अध्यक्ष भट्टराईको भनाइ छ । आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौँ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भनिन्छ’’, सोसाइटीले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।