२०८१ श्रावण १२

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउदै।

भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउदै छन् ।
भारतीय वायु सेवाको विशेष विमानमार्फत् आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने काठमाडौंस्थित भारतीय दूतावासले दिएको जानकारी छ ।
नेपाल आए लगत्तै विदेशमन्त्री जयशंकरले आजै राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई भेट्ने कार्यक्रम छ ।
भारतीय विदेश मन्त्री जयशंकरले आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुग्ने छन् । त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्डसँग मध्याह्न १२ बजे बालुवाटारस्थित निवासमा भेट्ने कार्यक्रम तय भएको छ ।
दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने विदेशमन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको समय निर्धारण गरिएको छ ।

बेलुका परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् ।
शुक्रबार बिहान ८ बजे पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने छन् । सोही दिन १२ बजेपछि उनी नयाँदिल्ली फर्किनेछन् ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने छन् ।
भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरु छन् ।