२०८१ श्रावण १२

करिब तीन हजार पाँच सरकारी वेबसाइटमा एकै पटक समस्या ।

काठमाडौँ, राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमबार समस्या आउँदा सेवाग्राही समस्यामा परेका हुन ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले केन्द्रमा साइबर आक्रमणको प्रयास भएको र ह्याकरले केन्द्रको सर्भरमा एकै पटक धेरै ट्राफिक पठाएकाले यस्तो समस्या आएको बताए । “सर्भरको डोमेन नेम सिस्टम (डिएनएस) मा समस्या आउँदा डिएनएस अवरुद्ध भयो । त्यसो गर्दा सेन्टरको सेवा अवरुद्ध भएको हो,” उनले भने ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले सरकारका वेबसाइट रियल टाइम चौबिसै घण्टा निगरानी गर्ने सिस्टममा बस्ने सर्भिलेन्स टिमले आइतबार समयमै साइबर आक्रमणको प्रयास भइरहेको भन्ने जानकारी दिएको बताए ।
प्रवक्ता सुवेदीले साइबर स्पेसमा यस्तो समस्या कहिलेकाहीँ आउने भन्दै केन्द्रलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रमा सरकारका विज्ञहरू बस्ने र बाहिरका विज्ञहरू पनि रहने ‘हाइब्रिड’ मोडेलमा काम अगाडि बढेको जानकारी दिए ।
साइबर सुरक्षाविद् राजनराज पन्तले सर्भरको सुरक्षाका लागि फाइयरवाल, डिडस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस अट्याक) सुरक्षा सेवाका साथै विभिन्न सुरक्षा कवच सेवा विश्वासिलो कम्पनीबाट लिनुपर्ने सुझाए । बारम्बार साइबर आक्रमणबाट केन्द्रको सर्भर डाउन हुनु भनेको राम्रो नभएको बताए ।