२०८१ श्रावण १२

नेपाल–भारत सीमा सुरक्षा समितिको बैठक सम्पन्न, अपराधिक गतिविधिको नियन्त्रण मुख्य एजेण्डा ।

नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।
बैठकमा मंसिर २६ गतेदेखि सुरु हुन लागेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने भारतीय तीर्थयात्रीहरुलाई सीमानामा सहजीकरण गर्नेलगायतको विषयमा छलफल भएको छ ।
त्यस्तै, भारतबाट हुने गरेको लागूऔषध कारोबार कडाइका साथ नियन्त्रण गर्ने, नेपालबाट भारतमा अवैध रुपमा जाने गरेको मदिराको चोरी निकासीमा कडाइ गर्ने, सीमा क्षेत्रमा हुने गरेका अपराधिक गतिविधिको नियन्त्रण गर्ने र अपराधिक गतिविधिका विषयमा प्रभावकारी सूचनाको आदानप्रदान गर्ने सहमति भएको बैठकमा सहभागी धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।


भारतीय पक्षबाट दशगजा क्षेत्रमा हुने गरेको अतिक्रमण कडाइका साथ हटाउने सहमति सीमा सुरक्षा समन्वय बैठकमा भएको छ । साथै सञ्चालनमा रहेको रेलमा सुरक्षा जाँच बढाउने सहमति पनि भएको छ ।
सीमा सुरक्षा समन्वय समितिको बैठकमा नेपालतर्फबाट धनुषा, महोत्तरी, सिरहा, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मधेश प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्रालयका सचिवलगायतको सहभागीता थियो।
भारतीय पक्षको नेतृत्व मधुवनीका जिल्ला न्यायधिश (डीएम) अरविन्द कुमारले गरेका थिए । बैठकमा मधुवनीका जिल्लाका प्रहरी प्रमुख, सीमा सुरक्षा बल तथा अन्य सुरक्षा अधिकारीहरुको सहभागी थिए।