२०८१ श्रावण १२

मर्स्याङ्दी ट्राभल्सका सञ्चालक हरि प्रसाद सुवेदी पक्राउ

काठमाडौँ, जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पर्वत घर भएका ४७ वर्षीय हरि प्रसाद सुवेदीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले बताए । यसअघि मङ्सिर ६ मा ब्युरोले सामाखुसी स्थित मर्स्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो । आरोपीहरूले बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रा.लिको युजर आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोप छ । भारतीय नागरिकको सहयोगमा आरोपीहरूले टिकट चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
ह्याकरहरुले पटक–पटक गरेर १ करोड ९९ लाख ८२ हजार बराबरको टिकट चोरी गरेको ब्युरेले गरेको अनुसन्धानबाट थाहा भएको छ । अहिलेसम्म ३३७ जना नेपाली र विदेशी नागरिकको नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।