२०८१ श्रावण १२

जलवायु परिवर्तन सम्बन्धि राष्ट्रसंघीय सम्मेलन (कोप–२८) ः प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्दै

काठमाडौं, बिहीबारदेखि यूएईको दुबइमा सुरु भएको जलवायु परिवर्तन सम्बन्धी वार्षिक राष्ट्रसंघीय सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री दाहालले आज संबोधन गर्न लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहाल हिजो र आज ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो ।


प्रधानमन्त्रीले आज जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दै छन् ।
कोप–२८ धनी तथा विकसित मुलुकले नेपालजस्ता अतिकम विकसित राष्ट्रको विश्वास आर्जन गर्न कस्ता वाचा गर्नेछन् र त्यसका लागि कति प्रभावकारी जलवायु कूटनीति प्रदर्शन हुने हो त्यो अबका केही दिनमा देखिनेछ ।


जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो संकटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हुँदै छ ।