२०८१ श्रावण १२

टोपबहादुर रायमाझीसहित ८ जनालाई थुनामा राख्ने आदेश सदर

काठमाडौं, उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।


नक्कली भुटानी शरणर्थी प्रकरणमा सन्देश शर्मालाई १० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालतविरुद्ध उच्च अदालत गएका शर्मासहितको सुनुवाइ सकेर उच्च अदालतले शुक्रबार यस्तो आदेश गरेको हो ।
त्यस्तै उच्च अदालतले हरिभक्त महर्जनसँग १५ लाख धरौट माग गरेको छ भने लक्ष्मी महर्जनको हकमा साधरण तारेखमा राख्न आदेश दिएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण रिहाइको हकमा दुई जना न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशले मुद्दा हेर्ने भएका छन् ।
न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा रिहा गर्न सकिने राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले तेस्रो इजलासपमा पठाउनुपर्ने राय दिएकाले उनी धरौटीमा रिहा हुन सकेनन् । दुई न्यायाधीशको राय बाझिएकाले अर्का न्यायाधीशको इजलासले दुईमध्ये जसको रायलाई सदर गर्नेछन् त्यही नै बालकृष्ण खाँणको हकमा लागु हुने पाटन उच्च अदालतका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए ।