२०८१ श्रावण १२

प्रहरीको गोली लागी एकको मृत्यु, तीन गम्भीर घाइते

काठमाडौँ, इपीएस परीक्षाको माग सहितको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागी गम्भीर घाइते भएका २३ वर्षीय सुजन राउतको उपचारका लागि किस्ट अस्पतालमा लगिएको थियो तर अस्पतालले मृत्यु भएको पुष्टि गरेको छ । अर्का एक जना गम्भीर घाइते छन् ।


अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले बताए । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध गरी सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खोलेका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।
पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो ।
तर, इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस प्रयोग गरेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।