२०८१ श्रावण १२

‘सार्प सुटर’ लाई गोली हानी नियन्त्रण लियो :बारा प्रहरी

बारा प्रहरीले मंगलबार राति एकजना ‘सार्प सुटर’ लाई गोली हानी नियन्त्रणमा लिएको छ ।
सार्प सुटर भारतको मोतिहारी जिल्लाको दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
गएराति बाराको विश्रामपुर गाँउपालिका—३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न लाग्दा खुट्टामा गोली हान्नुपरेको प्रवक्ता न्यौपानेले जानकारी दिए।
सिंहको दुवै खुट्टामा गोली लागेको छ । उनको कलैया अस्पतालमा उपचार भइरहेको छ।
उनको साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसमेत बरामद गरेको छ ।
पक्राउ परेका सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीले बताएको छ । गत कात्तिक १३ गते प्रिन्सिपल स्वर्णकारको हत्या भएको थियो । कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित मदरसा टोलमा प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार भएको थियो ।
यसका अतिरिक्त बारामा भएका अरू घटनामा पनि संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए ।