२०८१ श्रावण १२

नौ उद्योगको विजुलीको लाइन काटियो, ६१ उद्योगले २५ अर्ब रुपैयाँ तिर्न बाँकी ।

काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले थप पाँच उद्योगको लाइन काटेको छ ।
प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको छ । प्राधिकरणले ५० करोडभन्दा बढी बक्यौता तिर्न बाँकी उद्योगको लाइन काटन थालेको हो ।
यसअघि शुक्रबारमात्र चार उद्योगको लाइन काटिएको थियो । प्राधिकरणले शुक्रबार डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो ।
त्यसैगरी, प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर सिमेन्ट, अशोक स्टिल र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको हो ।
प्राधिकरणका अनुसार ६१ वटा कम्पनीले ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिएर बक्यौता तिरेका छैनन् । सावाँ २० अर्बमा ब्याज र जरिवाना पाँच अर्ब रुपैयाँ गरी उद्योगले २५ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ ।