२०८१ श्रावण १२

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु

काठमाडौं, प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुन लागेको हो । टी–२० ढाँचामा हुने खेलको व्यवस्थापन नेपाल क्रिकेट संघ (क्यान)ले गरेको छ ।
१४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी छन् । खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् ।
आज पहिलो दिन चार खेल हुँदैछन् । बागमती र मधेश प्रदेशबीच टीयू मैदानमा उद्घाटन खेल हुनेछ । खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सोही समयमा एपीएफ र सुदूरपश्चिमबीच मुलपानी मेदानमा खेल हुनेछ ।
यस्तै गण्डकी र लुम्बिनीबीच त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ भने सोही समयमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच मूलपानी मैदानमा खेल हुनेछ ।


प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । राउन्ड रोबिनपछि प्लेअफ, इलिमिनेटर र फाइनल खेल हुनेछन् ।
अघिल्ला संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो । यसपटक एउटा टोलीले कम्तीमा ७ खेल खेल्ने छ । लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ ।
लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।
यस्तै तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ ।
पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।