२०८१ श्रावण १२

आज ११ बजे प्रस्तावित न्यायाधीश सम्बन्धमा निर्णय हुने

काठमाडौँ, सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज आउने भएको छ । गत शुक्रवारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको हो ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । सो सिफारिसमाथि संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएको थियो ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी भएमा उजुरी दिन आव्हानसमेत गरेको थियो । समितिको सूचनाअनुसार प्रस्तावित न्यायाधीशमध्ये सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाविरुद्ध उजुरी परेको थियो भने महेश शर्मा पौडेल, सुनिल पोखरेल र बालकृष्ण ढकालविरुद्ध कुनै पनि उजुरी परेको थिएन ।
आज बिहान ११ बजे प्रस्तावित न्यायाधीशका सम्बन्धमा निर्णय गरिने संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा राष्ट्रपतिबाट शपथ लिई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज गर्न पाउनेछन् ।