२०८१ श्रावण १२

‘रेड कर्नर नोटिस’ जारी भएका कोमलराज दुबईमा पक्राउ

काठमाडौं, ठगी मुद्दामा इन्टरपोलबाट ‘रेड कर्नर नोटिस’ जारी भएका सर्लाहीको जानकीनगरका कोमलराज उपाध्याय पक्राउ परेका छन् ।
एनसीबी अबुधाबीको समन्वयमा उनलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उपाध्याय समेत सञ्चालक रहेको दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिजले त्यहाँ आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई शुक्रबार नेपाल फिर्ता ल्याइएको छ ।
आकर्षक तलब र सुविधा हुने भनी भिजिट भिसामार्फत नेपालबाट दुबई बोलाएर रोजगारीका निम्ति भन्दै ‘पीडित’बाट रकम लिइन्थ्यो । त्यसपछि भनेबमोजिम कुनै पनि रोजगारीमा नलगाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
त्यसरी, ठगी गरेको भन्दै ५१ जनाले उपाध्यायविरुद्ध जाहेरी दरखास्त दिएका थिए । अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका निम्ति उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड कर्नरनोटिस जारी भएको थियो ।