२०८१ श्रावण १२

पूर्वाञ्चल क्यान्सर अस्पतालद्धारा १५० जना क्यान्सर विजेता सम्मानित

पूर्वाञ्चल क्यान्सर अस्पताल, बिर्तामोडले झापा जिल्लाका चार पालिकाका १५० जना ‘क्यान्सर विजेता’लाई सम्मान गरेको छ ।
भद्रपुर, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिका क्षेत्रमा पाठेघर, स्तन, बोनम्यारोलगायतका क्यान्सर भएर पूर्वाञ्चल क्यान्सर अस्पतालमै उपचारपछि निको भएकाहरुलाई अस्पतालले सम्मान गरेको हो ।
यसअघि तीन पालिकाको सम्मान गरिसकेको अस्पतालले शुक्रवार मेचीनगर नगरपालिकाका नौ जना क्यान्सर विजेतालाई सम्मान गरेको छ ।


महिलाहरुको पाठेघरको मुखमा क्यान्सर भए वा नभएको पत्ता लगाउन गरिने स्क्रिनिङ (परीक्षण) समेत अस्पतालले निःशुल्क गरिरहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बीरेन्द्र यादवले जानकारी दिए ।
डा. यादवले हरेक पालिकाका जनप्रतिनिधि, स्वयम्सेवकहरुलाई समेत क्यान्सर रोग लागेका विरामीलाई लापरवाही नगर्न र समयमै सम्बन्धित अस्पतालमा स्वास्थ्य जाँच गराउन आग्रह गरे । डा. यादवले महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन हरेकले आफ्ना किशोरी छोरीहरुलाई एचभीपी नामक खोप लगाउन अनिवार्य भएको जानकारीदिए ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले नगरमा मात्र दैनिक जसो दुईदेखि तीन जनासम्मलाई क्यान्सरलगायतका नसर्ने प्रकृतिको रोगको उपचारका लागि उपचार सिफारिस गरिरहेको बताए ।
अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले क्यान्सर अस्पताल स्थापनाको चार बर्षमा झापामा २० हजार भन्दा बढीलाई सेवा प्रदान गरेको जानकारी दिए । सो अवधिमा १२ हजार महिलाहरुको पाठेघरको मुखको स्क्यानर (क्यान्सर भए नभएको जाँच) गरिसकेको पनि बताए । जिल्लाका १५ वटै पालिकामा क्यान्सर विजेताहरुलाई यसरी सम्मान गर्ने कार्यक्रम रहेको पनि बताए ।