२०८१ बैशाख १८

नेपाल मानव अधिकार चलचित्र महोत्सव’ सम्पन्न

काठमाडौं, ११ औं संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘नो विन्टर होलिडेज’ले उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको छ ।
राजन कठेत र सुनिल पाण्डेको ‘नो विन्टर होलिडेज’ले उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको छ। विभिन्न चलचित्र महोत्सवमा पुगेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन गरिएको थियो ।
त्यस्तै, सर्ट फिल्मतर्फ आकांक्षा कार्कीको ‘सनाई’ले ‘बेष्ट न्यारेटिभ’ अवार्ड पाएको छ। उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालका एलएसएम र सहयोगराज अधिकारीको ‘यात्रा’ले पाएको छ ।


उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेशनलतर्फको अवार्ड भने स्पेनका जुलेन जुबिटको ‘अ माउण्टेन अफ मेमोरिज’ले हात पारेको छ। त्यस्तै, महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले पाएकी छन् ।
उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ले पाएको छ। त्यस्तै, उत्कृष्ट कथानकका लागि बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’लाई र फिचर डकुमेन्ट्रितर्फ सौरभ कान्ति दत्तको ‘फतिमा’लाई जुरी मेन्सन अवार्ड प्रदान गरिएको छ ।
महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरू देखाइएको थियो । महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए ।
त्यस्तै, चार दिनसम्म महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि राखिएको थियो ।