२०८१ श्रावण १२

भ्रष्टाचारजन्य अपराधले सरकारको विश्वसनियता घटाउछ : अख्तियार प्रमुख

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालले भ्रष्टाचार विरुद्धको संघर्षमा संरचनात्मक चुनौतीहरुको सामना गरिरहेको बताएका छन् ।
भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी (अन्क्याक) पक्ष राष्ट्रहरुको सम्मेलनमा सम्बोधन गर्दै उनले पछिल्ला वर्षहरुमा नेपालले भ्रष्टाचार नियन्त्रणमा केही काम गरिरहे पनि चुनौतीहरुको सामना गर्नुपरेको बताएका हुन् ।
सम्मेलनलाई सम्बाधन गर्दै प्रमुख राईले भने, ‘भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकोले यसको दिगो सफलताको लागि अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्नु महत्वपूर्ण हुनेछ ।’
भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी (अन्क्याक)को प्रभावकारी कार्यान्वयनका लागि कानुनको कार्यान्वयन र न्यायिक सहयोग बलियो बनाउनुपर्ने भन्दै उनले सार्वजनिक र निजी क्षेत्रको पारदर्शिता र जवाफदेहिता बढाउनुपर्ने बताएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रष्टाचार जस्तो गम्भिर अपराधले सरकारप्रतिको विश्वसनियता घटाउने भन्दै उनले महासन्धीको पक्षधर राष्ट्रहरुको सामूहिक संकल्प भ्रष्टाचार नियन्त्रणका लागि महत्वपूर्ण हुने बताए । उनले महासन्धीका प्रावधान कार्यान्वयनका लागि नेपालले कानुन निर्माणको प्रक्रिया अघि बढाएको र संस्थागत प्रयासहरु थालेको बताए ।
प्रमुख राईले अन्क्याक पक्ष राष्ट्रहरुसँग समेत सहकार्यको अपेक्षा गरेको बताए । अमेरिकाको एटलान्टामा अन्क्याक महासन्धीमा हस्ताक्षर गर्ने मुलुकहरुका १० औं सम्मेलन चलिरहेको छ । सोही सम्मेलनमा भाग लिन प्रमुख राई अमेरिका पुगेका छन् ।