२०८१ श्रावण १२

अध्यागमनका कर्मचारीद्धारा दैनिक एक करोड रुपैयाँ घुस लिएको खुलासा

काठमाण्डौँ, नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूबाट अध्यागमन विभागका कर्मचारीले घुमाउरो बाटोबाट रकम लिने गरेको खुलेको छ ।
कार्यालयले नक्कली भिजिट भिसाबारे अनुसन्धान गर्न डीएसपी गोविन्द पन्थीको नेतृत्वमा टोली खटाएको छ । उक्त टोलीले अध्यागमनका कर्मचारीदेखि एयरलाइन्सका कर्मचारीसमेत पक्राउ गर्न सफल भएको छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार, अध्यागमन विभागका कर्मचारीले यात्रुको सहजीकरण गर्ने भन्दै आन्तरिक समिति बनाएर घुस लिने गरेको खुलेको छ । अध्यागमनका कर्मचारीले नक्कली कागजातका आधारमा विदेश जानेहरुबाट प्रतिव्यक्ति दैनिक ४० देखि ५५ हजार रुपैयाँ लिने गरेको देखिन्छ । त्यसका लागि उनीहरुको छुट्टै समिति बनेको देखिन्छ खेलासा भएको छ ।
प्रहरीका अनुसार, बिचौलियाहरुले नक्कली भिजिट भिसामा जानेहरुबाट कागजात र अध्यागमको सेटिङका लागि रकम माग गर्ने र उक्त रकम बिचौलिया मार्फत् अध्यागमनका कर्मचारीसम्म पुग्ने गरेको हो ।
प्रहरीको अनुसन्धानले नक्कली कागजातका आधारमा दैनिक दुई सय ५० जना भन्दा बढी नेपाली भिजिट भिसामा खाडी मुलुक जाने गरेको खुलाएको छ । त्यसरी जानेहरुबाट अध्यागमनका कर्मचारीले प्रतिव्यक्ति ४० देखि ५५ हजार रुपैयाँ उठाउने गरेका हुन् । त्यो भनेको दैनिक एक करोडभन्दा बढी हुन आउँछ ।
प्रहरीको अनुसन्धानबाट अध्यागमनका कर्मचारीले पहिलो पटक अवैध तरिकाले भिजिट भिसामा जानेहरुको हकमा ५५ हजार र फर्किएर दोस्रो पटक जानेहरुको हकमा ४० हजार लिने गरेको खुलेको हो ।
पक्राउ परेका अध्यागमनका अधिकृत खड्काले रकम सबै कर्मचारीले बाँडफाँड गरेरै लिने गरेको बयान प्रहरीलाई दिएको खुलासा भएको छ ।
एक महिनाको अवधिमा प्रहरीले ट्राभल, कन्सल्टेन्सी र म्यानपावरका सञ्चालकहरू धमाधम पक्राउ गर्न थालेका छन् । हालसम्म पक्राउ पर्नेको सख्या ३२ पुगेको छ । त्यसरी पक्राउ पर्नेमा दुईजना प्रहरी जवानसमेत छन् ।
अध्यागमन विभागका निर्देशक रुद्रसिंह तामाङका अनुसार विभागीय संयन्त्रले मात्र भिजिट भिसा प्रकरणलाई नियन्त्रण गर्न नसकेपछि प्रहरीको विशेष टोली परिचालन गरिएको हो । टोली परिचालन पछि ठूलो गिरोह नै पक्राउ परेको र अरु थप पनि पक्राउ पर्ने प्रक्रियामा रहेको बताए । पक्राउ परेका वा भिजिट भिसा प्रकरणमा संलग्न उपर कानून बमोजिम कारवाहिे हुने
निर्देशक रुद्रसिंह तामाङले बताए ।